काठमाडौँ । १४ वटा जीवन बीमा कम्पनीहरुमा ८७ हजार भन्दा बढी बीमितबाट १० अर्ब ७० करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको सुचना अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४ वटा जीवन बीमा कम्पनीका ८७ हजार २०१ जना बीमितले पोलिसी त्याग गरेका हुन् ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सबाट २४ हजार ३३० जना बीमितबाट पोलिसी सरेण्डर भएका छन् । कम्पनीबाट सो अवधिसम्म कुल ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

त्यस्तै, दोस्रोमा एलआइसी नेपालबाट १७ हजार २९६ वटा पोलिसी सरेण्डर भएका छन् । कम्पनीमा २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको प्राधिकरणले जनाएको छ ।

यसका साथै राष्ट्रिय बीमा संस्थानबाट १० हजार ४८३ जना बीमितबाट ९० करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन् भने नेशनल लाइफ इन्स्योरेन्सबाट ५ हजार ६७१ जना बीमितबाट कुल ७९ करोड ५२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन् ।

एशियन लाइफ इन्स्योरेन्सबाट पनि ७ हजार ९४३ जना बीमितबाट पोलिसी त्याग भएका छन् । कुल ६७ करोड ७० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।

त्यस्तै, सुर्यज्योति लाइफबाट ४ हजार २१९ जना बीमितले ५८ करोड १० लाख, हिमालयन लाइफबाट ६ हजार ५०७ बीमितले ५७ करोड ८९ लाख, मेट लाइफबाट ३ हजार ३२५ बीमितले ३३ करोड ६१ लाख, सानिमा रिलायन्स लाइफबाट १ हजार ५२० बीमितले १६ करोड ५० लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफबाट ९२१ जना बीमितले १४ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छन् ।

सिटिजन लाइफबाट २ हजार १२ जना बीमितले १२ करोड १६ लाख रुपैयाँ, आइएमई लाइफबाट १ हजार १८२ जना बीमितले १० करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट १ हजार २४९ जना बीमितले ७ करोड ५७ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ५३४ जना बीमितले ५ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छन् ।