काठमाडौं। आइएमई लाइफ इन्सुरेन्सको साधारण सभा सोमवार (जेठ २८ गते) बस्दैछ । सभाले प्रस्तावित २५ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित गर्नेछ । आइपीओ जारी गरेको केही समयमै यस इन्सुरेन्सले आकर्षित लाभांश वितरण गरेको हो । सम्भवतः साधारण सेयर निष्कासन पछि यति धेरै लाभांश निकै कम कम्पनीले वितरण गरेका छन् । यो प्रतिफल गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बिमा कम्पनीहरुको तुलनामा शीर्ष स्थान भित्रै पर्छ ।

प्रिमियम थप गरी आइपीओ बिक्री गरेको यस कम्पनीले पछिल्ला वर्षहरुमा निकै राम्रो व्यापार विस्तार गर्दै अघि बढेको छ । त्यसैले पनि यो बिमाले लगानीकर्तालाई पहिलो पटक नै बम्पर लाभांश दिन सफल भयो । यसले पुरान बिमा कम्पनीहरुलाई टक्कर दिंदै अघि बढेको पनि देखिएको छ ।

७ वर्ष यतादेखि आइएमई लाइफ व्यापारमा आक्रामक बनेको हो । सोही समयदेखि जगेडा कोष, बिमा कोषलगायतका महत्वपूर्ण सूचकहरुमा निकै राम्रो वृद्धि देख्न सकिन्छ । यसको श्रेय आइएमई लाइफका व्यवस्थापनलाई र कम्पनीका सञ्चालकलाई जान्छ ।

यता, आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (सीइओ) कवि फुयाल नियुक्त भएको ४ वर्ष पुग्न लागेको छ । उनी २०७७ भदौमा यस कम्पनीका सीइओ नियुक्त भएका थिए । करियरको छोटो समयमै सीइओको पद सम्हालेका फुयालले आइएमई लाइफको बागडोर आफ्नो हातमा लिएपछि कम्पनीलाई झनै नयाँ शिखरमा पुर्याएका छन् ।

यसको पुष्टि यो इन्सुरेन्सको वित्तीय अवस्थाले पनि देखाउछ । कम्पनीको जगेडा कोष, बिमा कोषमा पनि भारी सुधार छ । र चुक्ता पुँजी १ अर्ब ४० करोडबाट ५ अर्ब (२५ प्रतिशत बोनस सहित) पुर्याउदा पनि प्रतिसेयर आम्दनी र प्रतिसेयर नेटवर्थमा सन्तुलन कायम गर्न सफल भएको छ । त्यसमाथि नेटवर्थ त हरेक वर्ष झै बढेको छ ।

रिटेन्ड अर्निङ्/ जगेडा कोष र सेयर प्रिमियम

यस इन्सुरेन्सको वित्तीय तथ्यांकलाई हेर्दा पछिल्लो ७ वर्षमा जगेडा कोषको आकार मात्रै २ हजार प्रतिशत भन्दा धेरैले बढेको छ । कम्पनीको अडिट गरिएको रिपोर्ट अनुसार आव २०७४-७५ मा आइएमईको रिटेन्ड अर्निङमा ११ करोड ३५ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा सेयर प्रिमियम सहित २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ पुगेको छ । आव २०७६-७७ बाट यसअवधीसम्म आइपुग्दा १ हजार प्रतिशत भन्दा धेरैले बढेको छ । सो समय उक्र कोषमा २१ करोड ३१ लाख रुपैयाँ थियो ।

 

बिमा कोषको आकार ८ अर्ब ९० करोड

आइएमई लाइफको बिमा कोषको आकार पनि प्रत्येक वर्ष बढेको छ । आव २०७४/७५ मा ३१ करोड ३४ लाख रहेको उक्त कोष चालु आवको चैतसम्म आइपुग्दा ८ अर्ब ९० करोड पुगेको छ । आव २०७६/७७ मा १ अर्ब ६४ करोड थियो । त्यसयताका वर्षहरुमा पनि उलेख्य बढेको छ । आव २०७८/७९ मा ४ अर्ब ६२ करोड, २०७८/७९ मा ७ अर्ब ५ करोड बिमा कोष देखिएको छ ।

नाफा

आइएमई लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको चैतसम्म ३३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष इन्सुरेन्सले २१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।

पछिल्ला वर्षहरुमा प्रत्यक वर्ष नाफा वृदधि गरेको यसको गत वर्ष भने केही घटेको छ । तर, अहिले पुनः मुनाफामा सुधार गरेको देख्न सकिन्छ । २०७४-७५ मा ११ करोड ६२ लाख खुद नाफा आर्जन गरेको कम्पनीले २०७७-७८ सम्म आइपुग्दा २९ करोड ६२ लाख खुद नाफा कमाएको थियो । अहिले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्म आइपुग्दा ३३ करोड १६ लाख नाफा कमाएको छ ।

लगानी

आइएमईले विभिन्न क्षेत्रमा १४ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेको छ । यो चैतसम्मको तथ्यांक हो । यसले गत वर्ष १४ अर्ब २८ करोड रुपैयाँ भन्दा धेरैको लगानी गरेको तथ्यांकले देखाएको छ । आव २०७४/७५ मा १ अर्ब रहेको लगानी यसअवधिसम्म १४ अर्ब नाधेको छ । आव २०७६/७७ मा यसको लगानी ३ अर्ब ५ करोड थियो । लगानीबाट हुने आम्दानी बढ्दा नै नाफामा सुधार आएको हो ।

 

प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी पनि आकर्षक वृद्धि

आव २०७४/७५ मा १०९ रुपैयाँ रहेको यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी यस अवधिसम्म आइपुग्दा १७७.२५ रुपैयाँ पुगेको छ । रिपोर्ट हेर्दा प्रतिसेयर नेटवर्थ प्रत्यक वर्ष बढेको छ । त्यसैगरी, प्रतिसेयर आम्दानी पनि अरु बिमा कम्पनीहरुको तुलनामा निकै राम्रो छ । पुँजी बढ्दा पनि यी इन्डिकेटहरुमा ठूलो गिरावट छैन । त्यसमाथि, यसले अरु बिमा कम्पनीहरुको तुलनामा सन्तुलन कायम गर्न सफल भएको छ ।

कुल बिमा शुल्क संकलन

चालु आवको ९ महिनामा यसले ३ अर्ब २९ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । गत वर्ष ४ अर्ब १८ करोड उक्त शुल्क संकलन गरेको थियो । अघिल्लो वर्ष ३ अर्ब ५८ करोड शुल्क संकलन गरेको यस संस्थाले त्यसयताका वर्षमा पनि सुधार गर्दै अघि बढेको छ । ४ वर्ष अगाडि यसको बिमा शुल्क संकलन २ अर्ब ८२ करोड रुपैयाँ थियो । त्यसैगरी, दावी भुक्तानीमा पनि वृद्धि आएको छ । व्यापार बढेसँगै दावी भुक्तानी पनि बढेको हो ।

यस इन्सुरेन्सका थप वित्तीय सूचकको अवस्थाः