काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ । प्राधिकरणले वर्षौनी ठुलो जन धनको क्षति भइरहेको बेलामा पुलको गठन गर्ने तयारी गरेको हो ।
यद्यपि बीमा पुल गठन गर्नु मात्रै सम्पूर्ण समस्याहरूको समाधान होइन भन्ने कुरा प्राधिकरण स्वीकार गर्न तयार छ । बीमा प्राधिकरणले बीमा गराउन र नागरिकका अनेकौँ जोखिम बहन गर्न बीमा कम्पनीहरु खडा गरिरहेको अवस्थामा नागरिक र बीमा कम्पनीहरूलाई जोड्ने केही चिजको कमी भएको कुरामा पनि सहमति जनाएको छ । तर, सरकारी तहबाट बीमालाई हेर्ने नजर, बीमा प्रतिको दृष्टिकोण र बीमा बजारलाई विश्वसनीय बनाउन सम्बन्धी निकायले खेल्नु पर्ने भूमिका भने चारैतिरबाट कमजोर देखिन्छ ।
यस्तो अवस्था सिर्जना हुँदा नागरिकहरूले एक त बीमामा रकम बुझाउन हिचकिचाउँछन् भने अर्को उनीहरूलाई जोखिम आई परेको बेलामा मात्रै बीमाको याद आउने गर्छ ।
यता नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले आर्थिक भ्वाईससँगको कुराकानीमा आफ्नो जोखिम पहिचान गरेर नागरिकहरू अग्रसर भएको अवस्थामा बीमा कम्पनीहरूले पनि जोखिम लिन्न भन्न नपाउने बताएका छन् । उनले बीमा गर्नका लागि बीमा कम्पनीहरू खुलेको भए पनि साना वा ठुला आपत् विपतले नै मानिसहरूलाई बीमाले कहिले साथ दिने रहेछ भन्ने सिकाउने गरेको बताए ।
असारमा निर्देशिका तयार हुँदै बीमा प्राधिकरणका प्रवक्ता सुवेदीले आगामी असार महिनामा बीमा कम्पनीहरूले कतिको जोखिम लिन्छन्, लिनुपर्ने कति छ, नागरिकहरूको सहभागिता कस्तो छ भन्ने विविध पक्षहरूलाई आधार बनाएर नयाँ निर्देशन दिने तयारी भइरहेको बताएका छन् । उनले बीमा प्राधिकरणको एक मात्रै उद्देश्य स्वस्थ बीमा बजार बिस्तार गर्नु रहेकाले पनि नागरिक र कम्पनीहरूको हार्दिकतालाई बढवा गर्दै लाने बताएका छन् ।
मुख्य कुरा भनेको बीमाको प्रिमियम बुझाउन नसक्ने नागरिकहरू नै प्राकृतिक विपत्तिबाट पीडित भएको देखिन्छ । त्यस्ता विपन्न नागरिकहरूलाई विपत्तिको बेलामा सरकारले समेत केही विशेष व्यवहार गर्नु पर्ने देखिन्छ ।
नेपाल बीमा प्राधिकरणले पनि केही विद्यमान समस्याहरूको बारेमा स्वीकार गर्दै आगामी दिनमा त्यस्तो समस्या समाधान गर्न सबै मिलेर हातेमालो गर्दै अघि बढ्नु पर्ने र विपत्ति पछाडि भन्दा पनि घटना घट्नु अगावै सचेत हुनु पर्नेमा जोड दिएको छ ।







