काठमाडौँ। गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा  खेपिरहेका सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ ।

थापाले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस अगाडि अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

अहिले भने नगरपालिकाको वडा नं.४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम ९भरत ताल० निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो।

थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो माग दाबी गरेर मुद्दा दायर गरिएको छ । थापा सहित सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत गरि ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।