काठमाडौँ । निराशामा चलेको शेयर बजारको कारोबारमा सातो अन्तिम कारोबारका दिन भने चमक आएको छ । आज दैनिक कारोबार रकम बढ्दै गएर करिब साढे ६अर्ब पुगेको छ ।

चार अर्बको आसपासमा अल्झिएको शेयर कारोबार पछिल्लो एक सातामै करिब ४० प्रतिशतले बढेर ६ अर्ब बढीको कारोबार गरेको छ । यसले लगानीकर्ताको मनोबल उच्च पार्नमा सहयोग गरेको मान्न सकिन्छ ।

बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता, लगानीयोग्य रकमको सहज उपलब्धता, कर्जाको न्यून माग, र चालु आर्थिक वर्ष सकिन एक महीना मात्रै बाँकी रहँदा लगानीकर्ताले कम्पनीले गर्ने प्रगति विवरणले समेत लगानीका लगानी उपयुक्त वातावरण सिर्जना भएको लगानीकर्ताहरूको भनाई छ ।

पछिल्ला दिनमा कारोबारीभन्दा दीर्घकालीन लगानीकर्ताले बजारमा लगानी बढाएका छन् । तीन दिनको वृद्धिपछि बिहीबार आएको करेक्शनले बजार वृद्धिलाई थप टेवा पुग्ने हुन्छ ।

अहिलेको समय लगानीका लागि उपयुक्त समय रहेको जानकारहरूको भनाई छ । यद्यपि कम्पनी छनोट गर्दा पुँजीगत लाभ दिने सहित लाभांशबाट समेत फाइदा हुने कम्पनीमा लगानी गर्नुपर्ने र बजारको गतिलाई ध्यानमा राख्नुपर्ने विश्लेषकहरूको भनाई छ ।

बजार करेक्शनमा गएसँगै विकास बैंक र फाइनान्स बाहेक अन्य ११ ओटा उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । सर्वाधिक घटेका व्यापार र उत्पादन तथा प्रशोधनमूलक १.०३ प्रतिशतले घटेको छ । आज फाइनान्स सर्वाधिक २.०३ प्रतिशत र विकास बैंक १.३१ प्रतिशतले उकालो लागेको छ ।

बुधबार कारोबारमा आएका ३१३ मध्ये ४ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, कुथली बुखरी हाइड्रोपावर, साधना लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बिहीबारको बढोत्तरीपछि समृद्धि फाइनान्सको प्रतिकित्ता मूल्य ४३५.६० रुपैयाँ, कुथली बुखरी हाइड्रोपावरको प्रतिकित्ता मूल्य १६११.५० रुपैयाँ, साधना लघुवित्तको प्रतिकित्ता मूल्य ११९५ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता मूल्य ३५८ रुपैयाँ पुगेको छ ।

आज मिड सोलु हाइड्रोपावरको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ । ७७ रुपैयाँ प्रतिकित्ता घटेपछि कम्पनीको सेयर ६९३ रुपैयाँमा झरेको छ । यस्तै भगवती हाइड्रोपावरको ८.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ७.७८ प्रतिशत, कुमारी धन वृद्धि योजनाको इकाई मूल्य ५.८३ प्रतिशत र महुली लघुवित्तको ५.६२ प्रतिशतले मूल्य घटेको छ ।

बिहीबार ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ७७ हजार ४०० पटक कारोबारमा आउँदा दैनिक कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँमा समेटिएको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ करोड ९० लाख रुपैयाँले बढेको हो ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्षस्थानमा उक्लिएको छ। फाइनान्सको २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको ४ लाख ७० हजार ९५२ कित्ता सेयर किनबेच भएको छ । यस्तै हिजोसम्म शीर्ष कारोबार हुँदै आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ५७ लाख ५८ हजार रुपैयाँ कारोबार भएको छ ।