काठमाडौँ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड भएको छ । नाला पुरिएर ३ जना महिला कामदारको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले उक्त तोडफोड गरेका हुन् ।
झन्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुङ्गा तथा इट्टा प्रहार गरेका थिए। स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्याल ढोका फुटेका छन् ।
बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको रहेका छन् । मृतकहरूको शव मध्य बिन्दु अस्पतालमा राखिएको छ ।
वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।
कावासोती नगरपालिकाको शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।







