काठमाडौं । जेठमा उल्लेख्य मात्रामा ईभीको आयात भएको छ । जेठमा मात्रै करिब ३ हजार युनिट ईभी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ११ हजार ४ सय ६६ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् ।

वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा एक महिनामै २ हजार ९ ६९ युनिट विद्युतीय गाडी आयात भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा भित्रिएका ईभीमध्ये जेठमा मात्रै २५ प्रतिशतभन्दा धेरै आएको देखिन्छ । वैशाखमा १ हजार ४०४ युनिट ईभी आयात भएको थियो । वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएको भन्सार विभागले बताएको छ ।

जेठसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ३ सय ४४ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् ।

यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २०९ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको छ ।

भन्सार विागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८० अर्बको गाडी आयात भएको छ । जसमध्ये २९ अर्ब रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएका छन् । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाकारी दिएको छ ।