काठमाडौं । वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा शुष्म अध्ययन थालेको छ । बजेटपछि  प्याजको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लाई देखाएर अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविकभन्दा उच्च मूल्य कायम गरी बेचबिखन  भइरहेको गुनासाका बीच  विभागले अध्ययन शुरु गरेको हो ।

यस्तो कार्य उपभोक्ता संरक्षण ऐन विपरीत भएकाले अध्ययन थालिएको विभागले जनाएको छ । गत बुधबारदेखि विभागले  दुई टोली खटाई तरकारीको थोक बजारमा हुने प्याजको आपूर्ति र स्थानीय बजारमा हुने किनबेचको मूल्य अन्तरको अध्यय गरिरहेको छ ।

‘अहिले आपूर्ति कहाँ कसरी भएको छ त्यो बुझ्ने र बिलबीजक माग्ने काम गरिरहेका छौँ, मूल्य वृद्धि कहाँ कसले कसरी कुन कुन तहबाट भएको छ, त्यो सबै प्रमाण भेटेपछि त्यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाहीमा गर्छौं’  विभागका निर्देशक होमनाथ भट्टराईले बताए ।

तरकारी बिहान वा राति आउने भएकाले विभागको टोली फिल्डमै खटेर अध्ययन गरिरहेको छ । विभागले तरकारीको खरिद मूल्य र बिक्री मूल्यलाई आधार मानेर व्यवसायीहरुसँग बिलबिजक संकलन एवम् अध्ययन गरिरहेको  भट्टराईले जानकारी दिए ।यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।