काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहबाट सञ्चालनमा रहेका ५/१०/१५ सैयाको अस्पतालमा काम गर्ने डाक्टर तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएको छ । मन्त्रालयले जेठ ४ गते स्थानीय तहहरुलाई परिपत्र लेख्दै ती अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारबाट स्वीकृत भइनसकेको कारणले स्थानीय तहले नै तलब भत्ताको व्यवस्था गर्नुपर्ने जनाएको हो ।
न्त्रालयले स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९/०३/२१ मा ५/१०/१५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्नेगरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन । साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ.व.मा स्वास्थ्यकर्मीको तलब, भत्ता व्यवस्थापन पालिकाबाटै हुन ।’
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय किताबखाना (निजामती)मा दर्ता भएका निकाय र पदहरु बाहेकका पदमा कार्यरत कर्मचारीहरुको तलब, भत्ता उपलब्ध गराउन नसकिने समेत परिपत्रमा उल्लेख गरेको छ ।