काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट लाभांश दिएका अधिकांश (निर्जीवन बीमा) कम्पनीहरुको शेयर भाउमा पनि वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको अन्तिमा कारोबार दिन आज असार ३१ गतेको बजार भाउलाई आधार मानेर हेर्दा निर्जीवन बीमा कम्पनीहरुले शेयरधनीलाई लाभांश र पूँजीगत लाभ पनि दिएका छन् । निर्जीवन बीमामा हिमालयन एभरेष्टको शेयर भाउ १ वर्षमा ५.३३ प्रतिशत बढेको छ ।

साथै, यसले शेयरधनीलाई १५ प्रतिशत लाभांश पनि वितरण गरेको छ । त्यसैगरी, नेपाल इन्स्योरेन्सको शेयर ७.३२ प्रतिशत बढेको छ । यसले १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । प्रभुको शेयर १०.५८ प्रतिशत बढेको देखिएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको शेयर १०.४६ र युनाइटेड अजोडको १५.३४ प्रतिशत बढेको छ । यिनीहरुले क्रमशः ११ र १०.८० प्रतिशत लाभांश वितरण गरेका थिए ।

लगानीकर्तालाइ पूँजीगत लाभ दिन सफल यी कम्पनीहरुले लाभांश पनि दिएका छन् । तर, यस्तो अवस्था जीवन बीमा भने खासै देखिएन । लाइफ इन्स्योरेन्स कम्पनीहरुको बजार भाउमा खासै राम्रो वृद्धि देखिएन । अधिकांश कम्पनीहरुको बजार भाउमा गिरावट देखिएको छ । लगानीकर्ताहरुले सर्ट ट्रम ट्रेड गर्नलाई लो क्याप स्टकको कारोबार गर्दा पनि भाउमा वृद्धि नदेखिएको जानकारहरुको भनाइ छ । यस वर्ष बैंकको पनि बजार भाउमा गिरावट देखिएको छ ।

त्यसो त, सबै बीमा कम्पनीहरुको शेयर मूल्य घटेको छैन । केही कम्पनीको भने बढेको छ । जीवन बीमा कम्पनीमध्ये सिटिजन लाइफको १९.१२ प्रतिशत र सन नेपालको ८.७९ प्रतिशत शेयर भाउमा बढेको देखिएको छ । यी दुवै कम्पनीले शेयरधनीलाई क्रमशः ५.२६ र २५.०५ प्रतिशत लाभांश वितरण गरेका छन् । यो आर्थिक वर्ष ८ वटा जीवन बीमा कम्पनीहरुले विभिन्न आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गरेका छन् ।  जसमध्ये, सबैभन्दा धेरै सूर्यज्योतिले ३५ प्रतिशत लाभांश दिएको छ । सन् नेपालले २५.०५ र आइएमई लाइफले २६.३१ प्रतिशत लाभांश वितरण गरेका छन् । नेपाल लाइफले २१.०५ प्रतिशत दिएको छ । यता, ७ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश दिएका छन् ।

त्यसैगरी, पुनर्बीमा मध्ये हिमालयम रि इन्स्योरेन्सको शेयर मूल्य ७०.५४ प्रतिशतले बढेको छ । यसको ओपनिङलाई आधार मानेर भाउ निर्धारण गरिएको हो । किनकि यो कम्पनी गत पुसमा मात्र सूचीकृत भएको हो । यसले शेयरधणीलाई ४.२१ प्रतिशत लाभांश पनि दिएको छ । यता, नेपाल पुर्नबीमाको भने शेयर ५.६८ प्रतिशत घटेको छ । यसले लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिएको थियो ।

वित्तीय अवस्था   

यता, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १२ वटा निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमास अर्थात, चैतसम्मको रिपोर्ट अनुसार १२ मध्ये जम्मा २ वटाको मात्र नाफा घटेको छ । बाँकी कम्पनीहरुको नाफामा निकै राम्रो सुधार देखिएको छ ।

यिनीहरुको कसिमर र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको कारण नाफामा पनि सुधार आएको हो । गत वर्षको चैतसम्म ३ अर्ब ४० करोड ५५ लाख रुपैयाँ रहेको खुद नाफा अहिले बढेर ५ अर्ब २५ करोड २३ लाख पुगेको छ । यो ५४ प्रतिशतले धेरै हो । नाफासँगै यिनीहरुको प्रतिशेयर आम्दानी पनि औसतमा ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ । अब चौथो त्रैमासको नाफामा पनि भारी वृद्धि हुने अनुमान गरिएको छ ।

सोही अवधिसम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कम्पनीहरुको समग्र नाफा ४३.२१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्म यिनीहरुको नाफा ३ अर्ब ४३ लाख रुपैयाँ बराबर थियो । प्रतिशेयर आम्दानी पनि औसतमा १२.४६ रुपैयाँ छ ।