काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न स्वतन्त्र पुँजीबजार सुधार संघले माग गरेको छ । संघले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा बोर्डका अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओ निकाष्सन गर्दा भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओ निकाष्सन गर्दा भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा रहेको छ, उक्त आरोपले सेबोनेको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ ।’
साथै यसले पुँजीबजारको विकास र विस्तारलाई धेरै पछाडि धकेल्ने संघले जनाएको छ ।
त्यस्तै सँघले सेबोन अध्यक्षमाथि लागेका आरोपको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै व्यक्तिलाई उचित कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ ।