काठमाडौँ । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई नियमित ब्याजका अतिरिक्त आर्थिक वर्ष २०७९र८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।
कोषको सञ्चालक समितिले आव २०७९र८० को नाफाबाट तत्कालिन सहभागीहरूलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय गरेको हो ।
कोषको बचत वृद्धि अवकाश कोषमा आवद्ध साढे ३ लाख सहभागीहरूलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले आर्थिक भ्वाईसलाई जानकारी दिए ।
त्यस्तै , कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर पनि परिवर्तन भएको छ । परिवर्तित ब्याजदर अनुसार नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । त्यस्तै , कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर ८. ५ प्रतिशत रहेको थियो ।
यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बिमा कोषमा ६ र राष्ट्रसेवक जीवन बिमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।
कर्जाको ब्याजदर तर्फ सरल कर्जामा ९,शैक्षिक कर्जाको हकमा ८.५०, आवास कर्जामा ८.५० र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । यसपूर्व शैक्षिक कर्जामा ९.५०,आवास कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो ।