काठमाडौं। हाल मुलुकले नयाँ नेतृत्व पाएको छ । सरकार परिवर्तन सहित आम नागरिकमा एउटा आशाको त्यान्द्रो पलाएको छ । अब समग्र अर्थतन्त्रले मुहार फेर्छ देशको खस्किँदो अर्थतन्त्रमा सुधार आउँछ भनेर । अर्थमन्त्री विष्णु प्रसाद पौडेल आम लगानीकर्ताले विश्वासमा राखेका पात्र हुन उनलाई बजारको माग रहेका अर्थमन्त्रीको रूपमा समेत व्याख्या गर्दै आइएको छ ।
उनको आगमनसँगै शेयर बजारमा करिब ६ महिना यताकै उच्च कारोबार भएको छ । यसरी ९ अर्ब बढीको शेयर कारोबार हुनाले लगानीकर्तामा एउटा नयाँ आशा पलाएको छ , नयाँ जाँगर जगाएको छ तर यो कति समय कायम होला त ? के साँच्चिकै अर्थतन्त्रले वा शेयर बजारले लय समाएको हो ? नयाँ गठित सरकारबाट आम नागरिकले कस्तो अपेक्षा राख्ने अर्थविद् डा.केशव आर्चायलाई आर्थिक भ्वाईसले प्रश्न गरेको छ । प्रस्तुत छ अर्थविद् आर्चायको धारणा
पूजि बजारमा वा समग्र अर्थतन्त्रमा सुधार आउने कुरामा म त्यति आशावादी छैन। किन पनि छैन भने हामीले मार्केट मूल्याङ्कन गर्ने एक दुई दिनको शेयर बजारलाई हेरेर हैन यो समग्र अर्थव्यवस्था, अर्थनीति र सरकारको पोलेसीसँग जोडिएको विषय हो ।
तपाईँको सरकार परिवर्तन भएपनी अर्थतन्त्रमा फेरबदल आउला कि भन्ने जुन आशय सहितको सवाल छ त्यो नयाँ होइन बरु निरन्तर रूपमा हामीले भोग्दै महसुस गर्दै आएको हो । के केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुनुभएको हो उहाँबाट थप नयाँ कामको अपेक्षा गर्नलाई ? हामीले यस अगाडि नै तीन तीन कार्यकाल त उहाँको पनि भोगेकै हो त ।
अनि यता हाम्रो अर्थमन्त्री समेत रहेका विष्णु जी को पनि अर्थ मन्त्रालय सम्हालेको विषय त यस अगाडि पनि हेरेकै हो त । तसर्थ सरकार फेरिँदैमा वा कोही नयाँ अनुहार आउँदैमा अर्थतन्त्र मजबुत बनी हाल्ने पनि हैन म यी कुराहरूमा विश्वास पनि गर्दिन यो त फगत भूतको कथा जस्तो हो ।
नयाँ बनेको सरकारबाट एउटा अपेक्षा के गर्न सकिन्छ भने उनीहरूलाई अबचाहिँ लाग्नुपर्छ कि कम्तीमा हामीसँग चानचुन ३ वर्षको समय छ । यो छोटो समयमा हामीले ठिक परिणाम आउने गरी काम गर्न सकेनौ भने अर्को पटक जनताले हामीलाई नङ्ग्याउने छन् भनेर यसरी एउटा प्रण गरेर जनतामुखी काम गर्ने हो भने केही परिणाम पनि आउला, अर्थतन्त्रले धार पनि परिवर्तन गर्ला सत्तामा बस्ने आसेपासेलाई भर्ती केन्द्र बनाउने तिरै लाग्ने हो भने जुन जोगी आएपनी कानै चिरेको बाहेक केही हुन सक्दैन ।
शेयर बजारको विषय बिहानीलाई हेरेर दिनको कल्पना गरेजस्तो होइन यसको लागि त पर्याप्त आधारहरू खडा भएको हुनुपर्छ खै त्यो आधार बनाएको ? एक दुई दिन बढेको शेयर बजारको अवस्थालाई हेरेर बजारले गति समात्यो अब धमाधम बढ्छ भन्ने पक्षमा म चाही छैन ।
बहुदलीय व्यवस्था पश्चात् वा २०४७ सालपछि अहिलेका ठुला दल भनिएका नेकपा एमाले र नेपाली कांग्रेसले पटक पटक सरकार चलाएको हो । उहाँहरूको काम गराईको शैली जनताले प्रष्टसँग बुझेका छन् । यसकारणपनी अर्थ बजारमा आमूल परिवर्तन आउला भन्ने कुरामा म चाहिँ विश्वास राख्न सक्दिन भलै राम्रो गरेछन् भने त्यसलाई सुखद मानौला वा धन्यवाद नै दिउला ।
हाम्रो मुलुकको अर्थतन्त्रमा जुन विचलनको अवस्था छ त्यो सबै नेपालको अस्थिर राजनीति नै हो । सरकारको पूजिगत खर्चमा दिनप्रतिदिन घट्दै गएको छ । त्यत्रो महत्वोकांक्षी बोकेर ल्याएको बजेट खर्चमा समेत राम्रो हुन सकेको छैन । पूजिगत खर्चको अवस्था रकमगत रूपमा समेत कमजोर छ । पूजिगत खर्चको गुणस्तर हेर्ने हो भने झनै लाजमर्दो स्थिति छ।
सरकारको एउटा कमजोरी सही ढङ्गले संघियताको परिपालन गर्न नसक्नुपनी हो । बजेटको आवश्यकता कहाँ छ भन्ने कुरा पालीका प्रमुखले भन्दा संघीय सांसदले वा प्रदेश सरकारका सांसदहरूले बुझेका छैनन् । यदि उनीहरूले ठिक ढङ्गले त्यो विषय बुझेर जान्थे भने पनि वर्षेनी करोडौँ रकम गलत ठाउँमा प्रयोग हुने थिएन ।
सरकारसँग आयस्रोतको बाटो खुम्चिँदै छ , खर्च गर्ने स्रोतहरू दैनिक रूपमा बढिरहेको छ यसरी कसरी पुँजी बजारको अवस्था परिवर्तन हुन्छ ? हामीले उहाँहरूको कार्यशैलीलाई नियालेर हेर्दा जो जसले जे जे प्रतिबद्धता गरेपनी परिणाम शून्य नै हो । म सोच्दै छु कतै हप्तादिन पछि उहाँहरूले यो सचिव त्यो सचिव ले भनेर कर्मचारीतन्त्र फेरबदल गर्ने बाहेक केही परिणाम हुँदैन कि भन्ने लागेको छ ।
समग्रमा हालको अवस्थामा म पुरापुर विश्वास राख्न सक्दिन, बीमा बोर्ड , सेबोन बीमा समिति जस्ता सिधै अर्थतन्त्रसँग जोडिएका संघसस्थाको हालत चौपट छ , अस्तव्यस्त छ, एक दिन बढेको बजार हेरेर शेयर बजारको अवस्थामा सुधार आउँछ भन्ने कुनै आधार छैन , देशको गरिबी , खस्किँदो अर्थतन्त्रको लय हेर्दा हालको अवस्था पर्ख र हेर को हो ।