काठमाडौं । निरन्तर घट्दो शेयर बजारबाट चिन्तित शेयर लगानीकर्ताले ६ बुँदे माग सहित अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार अर्थमन्त्री महतलाई भेटेर शेयर लगानीकर्ताहरुले लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गर्नु पर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपाल, नेपाल इन्भेष्टर फोरम र नेपाल पूँजी बजार लगानीकर्ताले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने ,खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाविना ढिलासुस्ती कार्यान्वयन गर्नु पर्ने लगायतका मागअर्थमन्त्री समक्ष राखेका छन् ।

यस्तै लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोही अनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न सेयर लगानीकर्ताले माग समेत गरेका छन् ।