काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले बिहीवार (भोलिदेखि) आईपीओ निष्कासन गर्ने भएको छ । लिमिटेडले बिहीवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात् रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लावासीहरूका लागि विक्री गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने दोस्रो चरणमा विक्री गरिने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ विक्री गर्न लागिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आयोजना प्रभावित स्थानीय बासिन्दामा छिटोमा असार २१ गतेसम्म विक्री अवधि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ५ गतेसम्म विक्री लम्बिनेछ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २१ गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।