काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।सोमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता साधारण शेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं। ३ का बासीहरुको लागि बाँडफाँट गरिनेछ भने बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरुमा बाँडफाँड गरिनेछ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि भने उक लाख ९८ हजार कित्ता छुट्ट्याएको छ । दुबै समुहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा असार २१ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने असार २१ गतेसम्म बिक्री खुला रहनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।