काठमाडौँ । सर्वोच्च अदालतले नायव निरीक्षक (सई) कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरुको पक्षमा परमादेश जारी गरेको छ ।
बुधवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको हो ।
वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरूले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ ।
सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरू चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए। यो मुद्दाको ‘लिडिङ लयर’को रूपमा नेपाल प्रहरीकै पूर्व एसपी तथा अधिवक्ता डा.गणेश रेग्मी हुन् । अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए ।
वरिष्ठहरूको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरूले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बिचमा अनिवार्य अवकाशमा गएका वरिष्ठ सईहरूले समेत न्याय पाएको उनले बताए । अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ ।