काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (वैशाख १८ गते) सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

यस कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्नेछ । साधारण सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागी) वितरणको समेत पारित गरेको छ ।

साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न समेत साधारण सभाले स्वीकृत गरेको छ । यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्ब रुपैयाँबाट ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ ।

यस कम्पनीको चालू आ.व. २०७९।८० को फागुनसम्ममा जीवन बीमाकोष रु.३५ अर्ब ६० करोड र कूल लगानी रु.३९ अर्ब ८ करोड छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी रु.४० अर्ब ८५ करोड रहेको छ ।