काठमाडौँ । चालू वर्षको मौद्रिक नीति आएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । फलस्वरुप यो साता शेयर बजारमा उत्साहजनक कारोबार भएको छ ।
यस साता भएको ५ कारोबार दिनमध्ये २ कारोबारका दिन बजारमा सामान्य गिरावट आएको थियो । तथापि समग्रमा यो साता नेप्सेमा भने उच्च अंकको वृद्धि भएको छ । गत साता बिहीबार २५६८.१३ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको अन्तिम कारोबार दिन २७५५ अंकमा पुगेर बन्द भएको।
यस साता भएको ५ कारोबार दिनमध्ये नेप्से परिसूचक सोमबार र बिहीबार सामान्य अंकले ओरालिएको थियो। आइतबार ११३.४२ अंकले बढेको बजार सोमबार २०.४६ अंकले घटेको थियो । यस्तै मङ्गलवार ३५.५५ अंकले बढ्दा बुधवार ६४.२६ अंकले बढेको हो ।
भने साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक ५.२९ अंकको गिरावट आएको आयो । यो साता समग्रमा नेप्से परिसूचक १८७.४८ अंकले बढेको छ । अर्थ मन्त्रालयमा विष्णु पौडेलको आगमन र लचिलो मौद्रिक नीति आएसँगै शेयर बजारमा उत्साह आएको हो । शेयर बजारमा एक साताको यस अवधिमा झण्डै २०० अंकको वृद्धि आएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत संस्थागत सेयर धितो कर्जामा कायम २० करोडको सिमा खारेज गरेको थियो । यसबाहेक ५० लाख रुपैयाँभन्दा कम कर्जाको ‘रिस्क वेटेज’ घटाएको थियो । यससँगै साना–ठुला सबैजसो लगानीकर्ता उत्साहित बनेसँगै बजारमा रौनक आएको हो ।
यस साता सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबारको भएको छ । २०७८ साल भदौ ३ गते कायम २१ अर्ब ४९ करोडको कारोबार कृतिमानलाई तोडेर यस साता बुधवार नेप्सेमा २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो आजसम्मकै उच्च कारोबार हो ।
शेयर बजारमा बिहीबार २१ अर्ब ७१ ४८ करोड रुपैयाँको कारोबार भएको छ। यसबाहेक मङ्गलवार १७ अर्ब १९ करोड रुपैयाँको र सोमबार १९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो । भने आइतबार १५ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो ।
पछिल्लो समय शेयर बजारले गति लिँदा आम लगानीकर्तामा उत्साह जागेको छ । नेपाल राष्ट्रबैंकले आज एक सर्कुलर जारी गर्दै संस्थागत लगानीतर्फको २० करोडको सिमा हटाएपछि सेयरमा थप उत्साह देखिएको हो ।