काठमाडौँ। प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकको नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएको छ ।
बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने १४९९.०३ प्रतिशतले बढेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले २८ करोड २ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ। बैंकले १२ अर्ब २ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको १० अर्ब ६ करोड रुपैयाँको तुलनामा १९.४३ प्रतिशतले बढी हो ।
२३ अर्ब ५४ करोड रुपैयाँ बराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड रहेको छ । बैंकको रिजर्भको आकार १६.१४ प्रतिशतले बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ र लाभांश क्षमता दर ५.३० प्रतिशत रहेको छ ।
यस्तै बैंकले खुद शुल्क तथा कमिसन आम्दानीबापत १ अर्ब ९१ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि १०३।१६ प्रतिशतले बढेर १४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
बैंकले कर्मचारीका लागि ४ अर्ब ७६ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । बैंकको खराब कर्जा अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.७८ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानीमा उछाल आएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्ममा १.१९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर १९.०३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.७६ रुपैयाँ कायम भएको छ ।