काठमाडौँ। गत आर्थिक वर्ष २०८०/०८१ को असार महिनामा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले उक्त समयावधिमा (असार मसान्तसम्ममा) ६ अर्ब ७८ करोड १४ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हुन् ।

जीवन बीमा कम्पनीले संकलन गरेको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा २८.२६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीहरूले ५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

सार्वजनिक तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ  । उक्त कम्पनीले असार महिनामा मात्र १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो असारको तुलनामा २३.८३ प्रतिशतले बढी हो  ।

त्यस्तै नेशनल लाइफ इन्सोरेन्स दोस्रो धेरै प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीको सूचीमा परेको छ । नेशनल लाइफले असार ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । क्रमश तेस्रो नम्वरमा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर एलआइसी नेपाल पर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन लाइफले ५३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ, एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३५ करोठ ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याकंमा उल्लेख छ ।