काठमाडौँ – सत्कार बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी सहित तीन जना पक्राउ परेका छन् । उनीहरूमाथि बचतकर्ताको ठुलो रकम ठगी गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन्। पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीको भनाई छ ।

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठुलो रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई समातिएको प्रहरीले जानकारी दिएको छ ।

आकर्षक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाउने तर बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरूले उनीहरू विरुद्ध ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।