काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणमा देखिएको नाफा कागजी नभएको दाबी गरेका छन् ।
प्राधिकरणले ट्रंक डेडिकेटेड लाइनका विषयमा विवादित उद्योगको बक्यौता रकमलाई नाफामा देखाएको र क्यास फ्लोमै समस्या रहेकाले टाट पल्टिने स्थिति रहेको चर्चा चलिरहेको बेला कुलमानले हिसाबमा प्राधिकरणलाई नाफामा देखाएको आरोपको खण्डन गरेका हुन् ।
उनले प्राधिकरणसँग १ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको उल्लेख गरेको छन् । उनले दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा आज पत्रकार सम्मलेन गर्दै कुलमानले प्राधिकरण टाट पल्टिन लागिसक्यो भन्ने हल्ला झुटो रहेको बताएका हुन् ।
कुलमानले बिजुलीको महसुल घटाए पनि नाफा बढेको बताउँदै भने, ‘३ वर्षमा महसुल दर २५ प्रतिशत घटाइएको छ तर नाफामा बढोत्तरी भएको छ । यो नाफा डेडिकेटेड ट्रंकलाइनको बक्यौताले बढेको होइन ।’ ‘सबैले बुझ्न जरुरी छ कि प्राधिकरणको आर्थिक अवस्था सुदृढ छ । लगानीको क्षमता छ, टाट पल्टिन लागेको छ भन्नु गलत हो,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी छ । २०७८ साउन २५ गते कुलमान प्राधिकरणका प्रबन्ध निर्देशक नियुक्त भएयता ३ वर्ष पूरा भएको हो ।