काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो विरोध गर्नेहरू लोडसेडिङ हुँदा खुसी हुने जमातका मान्छे रहेको बताएका छन् ।
विद्युत् प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा (आज) बिहीबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठुलो रहेको र उनीहरूले आफूको विरोध गर्ने गरेको गुनासो गरेका हुन् ।
केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले प्राधिकरण सरकारको ठुलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको स्पष्ट पारे। साथै आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठुलो विषय भएको निर्देशक घिसिङले स्मरण गरेका छन् ।
नेपालको विद्युत् क्षेत्रमा ठुलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनले उनको भनाइ छ। घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले १ खर्ब लगानी गरेको बताए। उनले आफ्नो दोस्रो कार्यकालको अन्तिम वार्षिकोत्सव मनाउने वर्ष भएको बताएका छन् ।
केही दिन अगाडि मात्रै नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक ९डिआइजी० रमेश खरेलले घिसिङ विरुद्ध अख्तियारमा भ्रष्ट्राचार गरेको भन्दै उजुरी दर्ता गराएका थिए । उक्त विषयमा खरेलले नियोजित रूपमा आफूमाथि दुष्प्रचार गरेको भन्दै घिसिङले खण्डन गरेका थिए । बुधवार एक प्रेस वक्तव्य जारी गर्दै घिसिङले रमेश खरेलले दूषित मनसायका साथ आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको उल्लेख गरेका थिए ।