काठमाडौँ। नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा हुने चलखेललाई सन्र्दभमा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै शेयर खरिद वा बिक्री गर्नका लागि उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नर्गन भनिएको छ ।

शेयर बजार पछिल्लो समय निरन्तर बढ्दो क्रममा रहदा ठुला लगानीकर्ताले स–साना तथा नवप्रवेशी लगानीकर्तालाई कम्पनीको नामै ताकेर समाजिक सञ्जालमा शेयर खरिद बिक्री गर्ने उत्साहित गराइ रहेका पाइएको र विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सञ्जालमार्फत नेप्से यति पुग्छ भन्दै निश्चित शेयर किन्न अभिब्यक्ति दिएको भन्दै बोर्डमा उजुरी समेत आउने गरेपछि यस्ता कार्य नगर्न नगराउन आदेश जारी गरेको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउदै संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्ब रोक्न भनेको छ।

यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको बोर्डले सूचनामा उल्लेख गरेको छ ।