काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियपछि केन्द्रीय बैंकले तान्न थालेको छ । असार ७ गते रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ तानेको बैंकले आगामी असार १० गते थप २० अर्ब रुपैयाँ तान्ने भएको हो ।

शुक्रबार सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले एक हप्ताका लागि २० अर्ब रुपैयाँ रिभर्स रिपो जारी गर्न लागिएको जनाएको छ । तरलता लगानी गर्न चाहन बैंक तथा वित्तीय संस्थाहरुले असार १० गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंक समक्ष निवेदन दिन सक्नेछन् ।

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्नेगर्छ ।

रिभर्स रिपोमार्फत दुई दिनमा ३० अर्ब रुपैयाँ तान्दैगर्दा बजारमा तरलता थुप्रियको सहजै अनुमान गर्न सकिन्छ । उसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ ।

मौद्रिक नीतिको समीक्षाले बैंकदर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ ।