काठमाडौँ । गत साता ३०००.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८८ प्रतिशत अर्थात् २६.३५ अंक घटेर २९७४.४६ विन्दुमा झरेको छ। यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको हो ।
५ कारोबार दिनमध्ये यस साता ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन बजार घटेको थियो भने दुई कारोबार दिन सामान्य अंक बढेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स १.६५ अंक र फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक बढेको छ।
त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १७.३४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.०३ प्रतिशत घटेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ।
गत साता दैनिक औषतमा २५ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा २२ अर्ब ३० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.३८ प्रतिशत अर्थात् ३ अर्ब २८ करोड घटेको हो।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.८८ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४१ अर्ब घटेर ४७ खर्ब २४ अर्बमा सीमित भएको छ।
१३ उपसमूहमध्ये यस साता ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२९ प्रतिशत बढेको छ। गत साता ३८४८.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२६.७८ अंक बढेर ३९७५.४९ विन्दुमा पुगेको छ।








