काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रूपले अगाडि बढिरहेको कम्पनीको दाबी छ । नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिटभन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुडिरहेका छन् ।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचरहरू थप गरिएका छन् । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ । यसको एक्सटेरियरमा पनि महत्त्वपूर्ण सुधार गरिएको छ । पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी–पिलर पहिले ड्रागन स्केलजस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा छ । यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको छ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।

बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारेमा थाहा पाउन सकिन्छ । त्यसैगरी, टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ।

यसको डीआई लिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ र यसका कारण एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरूका लागि रुचिकर बनेको छ । बीवाईडी एट्टो ३ नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधानसमेत हो । बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइनसहितको पावरफुल पर्फर्मेन्सको सम्मिश्रण छ ।

काठमाडौंको दरबारमार्गमा आयोजित लन्च इभेन्टमा पूर्वबैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङ्देन फिन्सो शेर्पा तथा वरिष्ठ हास्य कलाकार एवं बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यलगायतका प्रसिद्ध व्यक्तित्वहरूको सहभागिता थियो ।