काठमाडौँ । साउन महिनामा मात्रै १८ अर्ब ७१ करोड ४ लाख पेट्रोलियम पदार्थ (इन्धन) आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा १७ अर्ब ७९ करोड ४३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

त्यस्तै साउन महिनामा ६ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको ७२ हजार ५२ किलो लिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ७ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको ७६ हजार ७१६ किलो लिटर डिजेल आयात भएको थियो।

त्यस्तै, चालु आवमा ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँको ५९ हजार ६४४ किलो लिटर पेट्रोल आयात भएको छ । गत आवको साउनमा ५ अर्ब ४४ करोड ७० लाख ५६ हजार ९०१ किलो लिटर पेट्रोल आयात  भएको थियो ।

सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख बराबरको ४ करोड ५७ लाख ३५ हजार ९०७ केजी खाना पकाउने एलपी ग्याँस आयात भएको हो । यस्तै चालु आवमा १ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरको १२ हजार ४७२ किलो लिटर हवाई इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ ।

यता, चालु आर्थिक वर्ष २०८१/८२ को  साउनमा समग्र वस्तुको आयात निर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । साउनमा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको भएको छ ।

गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको भएको छ ।