काठमाडौं। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ९ अर्ब ६७ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको बोनस बाँडेका छन् । बैंकहरुले यस्तो प्रतिकुल अवस्थामा पनि कर्मचारीलाई बोनस दिन सफल भएका छन् । जसमध्ये नबिल बैंकले कर्मचारीलाई सबैभन्दा धेरै १ अर्ब ८ करोड रुपैयाँ बोनस दिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको गत असारसम्मको रिपोर्टमा प्रोभिजन फर स्टफ बोनस शीर्षकमा उक्त तथ्यांक देखिएको छ । दोस्रोमा, ग्लोबल आइएमई बैंकले ९५ करोड १९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ८१ करोड ५८ लाख, प्रभुले ७८ करोड ३८ लाख, एभरेष्टले ६२ करोड १९ लाख, प्राइमले ६० करोड ३१ लाख र स्टान्डर्ड चार्टर्डले ५२ करोड ५२ लाख रुपैयाँ बोनस बाँडेको छ । जम्मा ७ वटा बैंकहरुले मात्र ५० करोड भन्दा धेरै बोनस दिएका छन् ।

सबैभन्दा कम नेपाल बैंकले १५ करोड २१ लाखको बोनस वितरण गरेको छ । त्यस्तै, एनआइसी एशियाले २१ करोड ४५ लाखको बोनस बाँडेको छ । ६ वटा बैंकले ३० करोड भन्दा कम रकम कर्मचारीलाई बोनसको रुपमा बाँडेका छन् । खराब कर्जा बढेको र शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पनि बैंकहरुले कर्मचारीलाई खुशी पारेका छन् ।