काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटना तीव्र गतिको कारण भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ का विवश सापकोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
टाटा सुमोलाई इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले नियन्त्रणमा लिएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको प्रहरीले जनाएको छ ।








