काठमाडौँ। कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो व्यवसायीको राम्रो काममा सरकार सधैँ साथमा रहेको बताएका छन् । आज (मङ्गलवार) ‘नाडा अटो शो २०२४’ को उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले इमानदार रूपमा व्यवसाय गरेको खण्डमा सरकार सधै साथमा रहने विश्वास व्यक्त गरेका हुन् ।

अर्थतन्त्रका सबै क्षेत्रमा यथेष्ट अध्ययन अनुसन्धान गरेर नतिजाका आधारमा मूल्यांकन गरेर परिमार्जन गर्नुपरे त्यो अनुसार नीति बनाइने पौडेलको भनाई छ । नीतिगत स्थिरता स्थिर सरकारसँग जोडिएकाले यसमा सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।

साथै , सबैले भनेजस्तो मौद्रिक नीति नभए पनि यस नीतिले समग्र अर्थतन्त्र चलायमान बनाएको अर्थमन्त्रीको भनाई छ । ‘ट्रेडिङबाट इन्डस्ट्रीमा सिफ्ट हुन चाहनुभएको छ । यसमा राज्यले सह्रानीय गर्छ । भूगोल र जनसङ्ख्या सानो भएर केही फरक पर्दैन गुणस्तरीय उत्पादन गर्न सक्यौँ भने विदेशमा पनि निर्यात गर्न सकिन्छ’, उनले भने ।

अर्थमन्त्री पौडेलले भने इमानदार व्यवसाय गर्नुहोला । हिजोको सम्झना बाट त्रसित नहुनुस् । अगाडि बढ्नुस् । राज्यले साथ सहयोग गर्छ । कसैले दुःख दिए मन्त्रीलाई भन्नुस् त्यसलाई कारबाही गरिन्छ।’