काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरे पश्चात पूर्वमहामन्त्री मुकुल ढकालले सामाजिक संजाल मार्फत आक्रोश पोखेका छन् ।
उनले आफू रविको क्लबबाट मात्र निष्कासित भएको दोहोर्याउँदै पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई नभएको लेखेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन ।
न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिक रुपले पतीत पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतीत रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’
यस्तै, उनले अर्को कुरा भन्दै ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेका छन्, आफूविरुद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै गरेको आरोप लगाएका छन् ।









