काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा मात्रै चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात भएको छ ।

प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त रहेको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरेको जनाएको छ । साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्ष अघिसम्म वर्षा याममा दैनिक ८/ ९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षा यामका महिनाहरूमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।

यसमध्ये एनभिभिएन मार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरूबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ । १० जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत विहार राज्यमा निर्यात हुने छ । विहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भई नसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ।