काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालले जन्म मिति र पदावधिलाई लिएर केही सञ्चार माध्यममा आएका भ्रमपूर्ण समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले जन्म मिति र प्राधिकरणको अध्यक्षको पदावधिलाई लिएर कपोकल्पित, भ्रमपूर्ण, मन गढन्ते र प्रचलित कानुनको आफूखुसी अपव्याख्या गर्दै स्वार्थ पूर्ति गर्ने हेतुले समाचार प्रकाशित गरेर आफ्नो मान, सम्मान, निष्ठा र प्रचलित बीमा ऐन नियम बमोजिम आफूले निर्वाह गर्दै आएको भूमिकामा भ्रम सिर्जना गर्ने गलत मनसायले गरिएको भन्दै खेद व्यक्त गरेका छन् ।

अध्यक्ष सिलवाले शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति वि.सं. २०१५ साउन १५ गते रहेको उल्लेख गरेका छन्  । वि.सं. २०३२ सालमा नागरिकता प्रमाणपत्र लिँदा आफ्नो उमेर १६ वर्ष कायम रहेको उल्लेख गरेका छन् । त्यति बेला नागरिकता प्रमाणपत्रमा जन्म मिति उल्लेख गर्ने खण्ड नभई उमेर मात्र खुलाउनु पर्ने भएकाले उमेर मात्र खुलाइएको उनको भनाई छ । उनले भनेका छन् ”मैले त्यति बेला लिएको नागरिकता प्रमाणपत्र धेरै पुरानो÷झुत्रो भएका कारण काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिँदा नागरिकता प्रमाणपत्रमा जन्म मिति उल्लेख गर्नुपर्ने खण्डमा मेरो जन्म पात्रो (चिनो) मा भएको जन्म मिति वि.सं. २०१६-७-२२ खुलाइएको छ ।”

मैले नागरिकता प्रमाणपत्रको प्रतिलिपि मात्र लिएको हुँ, अर्को नागरिकता प्रमाणपत्र लिएको छैन । मसँग एउटा मात्र नागरिकता छ । यस वास्तविकतालाई बेवास्ता गरी प्रतिलिपिलाई पनि कुतसित मनसायले नयाँ नागरिकता प्रमाणपत्र भन्दै तीन वटा नागरिकता प्रमाणपत्र लिएको भनी कपोलकल्पित, मन गढन्ते र दूषित किसिमले भ्रमपूर्ण समाचार तयार गरी प्रकाशन गरिनु दुःखद छ, खेदजनक छ, आपत्तिजनक छ । उनले स्पष्टीकरणमा भनेका छन् ।

निजामती सेवा ऐन र नियमावलीमा जन्म मिति गणना गर्दा नागरिकता वा शैक्षिक प्रमाणपत्रमा उल्लेखित मिति फरक फरक भई कायम गर्नुपर्दा जुन उमेर अघि आउँछ सोही अनुसारको उमेर कायम हुने व्यवस्था भए बमोजिम आफ्नो शैक्षिक प्रमाणपत्रको ज्रन्ममिति नागरिकता प्रमाणपत्रको जन्म मितिभन्दा अगाडि भएकाले वि.सं. २०१५÷४÷१५ लाई जन्म मिति मानी नेपाल सरकारको सचिवबाट आफ्नो अनिवार्य अवकाश भएको ब्यहोरा मेरो व्यक्तिगत विवरण फाइलमा स्पष्ट नै रहेको उनको भनाइ छ ।

यसै गरी, वि.सं. २०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट आफूले नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) को अध्यक्षमा चार वर्षका लागि नियुक्त भएको उल्लेख गरेका छन् । बीमा ऐन, २०४९ र बीमा ऐन, २०७९ दुबैमा अध्यक्षको पदावधि नियुक्त भएको मितिले चार वर्षको हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको हुँदा सोही व्यवस्था बमोजिम चार वर्ष पुग्ने मितिसम्म आफ्नो पदावधि कायम रहने उनको भनाई छ ।  बीमा ऐनमा अध्यक्ष पदको कुनै उमेर हद नतोकिएको यथार्थलाई बेवास्ता गरेर आफ्नो उमेरको विषयलाई भ्रमणपूर्ण र निहित स्वार्थ प्रेरित ढङ्गले जोडेर समाचार प्रकाशित गरेको उनको आरोप छ । ऐनमा भएको व्यवस्था विपरित कुतसित मनसायले आफ्नो उमेरको कुरा उठाउन खोज्नु बुझेर पनि बुझ पचाउने र भ्रम छर्ने प्रयास भएको भन्दै सिलवालले आक्रोष पोखेका छन् ।

साथै, सञ्चार माध्यमले सदैव सत्य, तथ्य र प्रमाणित समाचार निष्पक्ष रुपमा प्रकाशन गरेर नागरिकलाई सुसूचित गराउँछन् भन्ने आम मान्यता रहेको भए पनि निहित स्वार्थ समूहको उक्साहट वा प्रभावमा परेर हुँदै नभएको कुरालाई बलजफत जनमानसमा स्थापित गर्ने दुष्प्रयत्न हुनु पत्रकारिता क्षेत्रकै लागि निकै दुखद् विषय भएको उनको स्पष्टीकरण रहेको छ ।  । कसैको स्वार्थ सिद्ध गर्नका लागि सर्वसाधारणलाई भ्रमित पार्न गरिएको यस प्रकारको कलोलकल्पित र भ्रामक समाचारप्रति पुनः खेद प्रकट गर्दै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित सञ्चार माध्यम नै हुने स्पष्ट गर्दछु ।