काठमाडौँ – चालू आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना साउनमा ९ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता भित्रिएको हो। साउन महिनामा मात्रै ९ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको विदेशी लगानी प्रतिबद्धता नेपाल भित्रिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भने चालू वर्षको साउनमा भित्रिएको लगानी प्रतिबद्धतामा गिरावट आएको छ। गत वर्षको साउन महिनामा ११ अर्ब ९३ करोड रुपैयाँ बढीको लगानी प्रतिबद्धता नेपाल भित्रिएको थियो।

उक्त विदेशी लगानीबाट ३ हजार ३०१ जनालाई रोजगारी सृजना हुने उद्योग विभागको भनाई छ ।उद्योग विभागको तथ्यांकअनुसार गत वर्षको साउन महिनाको तुलनामा यो ठुलो अन्तरको न्यून रोजगारी प्रतिबद्धता हो ।

यस अवधिमा ५७ वटा साना उद्योगमा लगानीको प्रस्ताव आएको छ । यस्तै, २ वटा मात्रै ठुला उद्योगमा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । आएको प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा ७३ प्रतिशत लगानी प्रस्ताव आएको छ ।

यसपछि उत्पादनमूलक, सेवा क्षेत्र, सूचना प्रविधि क्षेत्र र कृषि क्षेत्रमा प्रतिबद्धता आएको छ । यस अवधिमा खनिज जन्य र पूर्वाधार क्षेत्रमा लगानी आएको छैन भने ऊर्जामा समेत लगानी प्रतिबद्धता  छैन ।

गत आर्थिक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता भित्रिएको थियो । सरकारले विदेशी लगानी भित्र्याउने लक्ष्यसहित वैशाख १६र १७ गते लगानी सम्मेलन नै गरेको थियो । दुई दिने सम्मेलनका क्रममा जम्माजम्मी १२ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी सम्झौता भएको थियो ।