काठमाडौँ । आज नेपाल प्रहरीले बरामद गरेको अवैध सुनचाँदी सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले  बताए ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा अवैध सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित चार जनालाई पक्राउ गरिएको थियो ।

बरामद भएको सुनचाँदी र सवारी साधनसहित एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।  बरामद सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।