काठमाडौं । सहज च्यालेन्ज फण्डले आवेदन माग गरेको छ । फण्डले कोशी प्रदेशमा कृषिसँग सम्बन्धित व्यवसाय गर्नेलाई चौथो र पाँचौं चरणका लागि आवेदन माग गरेको हाे ।

फण्डले कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायिकीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित चौथो र पाँचौं चरणका लागि आवेदन माग गरेको हो ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृंखलामा विद्यमान अवरोध समाधान गर्न सहयोग गर्न लागिएको जानकारी दिएको छ ।

चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौं चरणमा पर्यावरणीय तथा वातावरणीय पहलको सेवामा सहयोग गरिने फण्डले बताएकाे छ ।

च्यालेन्ज फण्डका लागि इच्छुकले आगामी साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिने र सफल आवेदकले पूर्ण व्यावसायिक योजना बुझाउनुपर्ने फण्डले जनाएकाे छ । पूर्ण व्यावसायिक योजना मूल्यांकन गरी सम्बन्धित व्यवसाय गर्नेलाई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम दिने बताइएको छ ।