काठमाडौँ । एक साता पुरै ओरालो यात्रामा रहेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । बजारमा बिना कारण गिरावट आउँदा आम लगानीकर्तामा निराशा बढेको थियो । सेयर बजारको पछिल्लो दृश्य हावा भरिएको बेलूनझै देखिएको छ । ह्वात्त बढ्ने स्वात्तै घट्ने । सोमबारका दिन सबै समूहका सूचक बढे बजारको सूचक मात्रै बढेन लगानीकर्ताको विश्वास र आत्मबल समेत बढेको छ ।
बजारको बढोत्तरी कमब्याक हुँदा आम लगानीकर्तामा फेरि विश्वास जागेको छ । पछिल्लो ९ कारोबार दिनमा ४ दिन नेप्से सूचक बढ्दा ५ दिन घटेको थियो । यस्तै यस अवधिमा कारोबार रकम २ दिन सामान्य बढेको छ भने बाँकी ७ दिनको कारोबार रकममा गिरावट देखिएको छ । साउन ३१ गते झण्डै ३० अर्बको कारोबार भएकोमा भदौ १६ गतेसम्म आइपुग्दा कारोबार रकम साढे १० अर्बमा खुम्चिएको थियो ।
उसो त सबै आधारहरू राम्रो हुदाँहुदैपनी किन बजारमा निरन्तरको गिरावट आयो ? बजारमा देखिएको सुधारलाई करेक्सन भन्ने वा सामान्य प्रक्रिया समग्रमा बजारको आगामी यात्रा कता मोडिएला लगायतका विषयमा आर्थिक भ्वाईसले शेयर गुरुको रूपमा परिचित शेयर लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र भट्टराई सोधेको छ । प्रस्तुत छ उनको धारणा ।
पहिलो विषय त बजारमा गिरावट आएको वा सुस्ताएको भन्न मिल्दैन भन्ने लाग्छ किनकि सामान्य घटबढ हुनु बजारको गुण हो , विशेषता हो । बजार नै घटेन वा निरन्तर बढिरह्यो भने यो दुई वटा विषय नै दुर्घटनाको संकेत हो भनेर आकलन गर्दा हुन्छ । हालको समयमा बजारको जुन घटबढको प्रक्रिया चलिरहेको छ यो निकै सुन्दर र सान्दर्भिक छ भन्ने मलाई लाग्छ । सुस्ताएर हिँडेको यात्राले निकै टाढा हिँड्न सकिन्छ भन्ने मलाई लाग्छ ।
अर्को विषय यहाँले जून करेक्सनको प्रसङ्ग उठाउनुभयो यसको विषयमा करेक्सन नै भन्ने समय आएको छ भन्ने मलाई लाग्दैन । हामी हतारमा छौ हामीलाई दैनिक बजार बढेको हेर्न मन छ तर बजारको कुरा त कल्पना गरेजस्तो हुन सक्दैन । ४ सयको घटिबढीको प्रक्रियालाई करेक्सनसम्म झार्नु हुँदैन भन्ने मेरो धारणा हो । यो अंक सामान्य हो र सामान्य घटबढ हुन बजारको सुन्दर पक्ष हुन भन्ने मलाइ लाग्छ । बजार अहिलेपनी बढिरहेकै अवस्थामा छ । ठुलो सङ्ख्यामा घटेर बजारमा ठुलो पहिरो आएर फेरि सुधारको बाटोमा आएको होइन यस कारण अझै करेक्सन भएको भन्ने अवस्थामा बजार झरेको थियो भन्ने तथ्यहरू देखिदैन् । सामान्यतया ४ सयको घटबढ हुनु त बजारको लागी थप सुधारको निमित्त गतिलो अभ्यास हो भन्ने मलाई लागेको छ ।
नयाँ सरकार गठनको माहौलसँगै तातिँदै आएको सेयर बजारलाई मौद्रिक नीतिले थप उत्साहित बनायो । नयाँ सरकार र मौद्रिक नीतिको सेरोफेरोमा डेढ महिनाकै अवधिमा नेप्से २ हजार विन्दुबाट २६ सय विन्दुसम्म उक्लिएको थियो । त्यसपछिका दिनहरूमा बिस्तारै बढ्न थालेको बजार छोटो समयमै ३ हजार विन्दुसम्म उक्लियो । त्यसैमा यो बिचको एक हप्तामा सामान्य गिरावट आएको हो । तसर्थ यसलाई शक्ति सञ्चयको रूपमा लिनुपर्छ भन्ने लाग्दछ ।
हाल सूचक र कारोबार रकम दुवै राम्रोसँग बढेको भएपनि बजारले घट्ने यात्रा समाप्त गरेको छ भन्न सकिँदैन । मैले माथि पनि भनेको छु कि बजारको घट्ने बढ्ने प्रक्रियालाई सामान्य लिनुपर्दछ भनेर उसो त त्यसैको एउटा पक्ष हो यो यो अंकबाट बजार फेरि ओरालिन सक्छ तर त्यत्तिकैमा हामी अतालिनुपर्छ भन्ने लाग्दैन । बजार अझैसम्म सामान्य ढङ्गले पाइताला चाल्दै छ यसले गति लिन र दौडिन अझै बाकी छ भन्ने मेरो धारणा छ । किनकि यसको बिन्दु ३२ सय ३४ सयमा पुग्नलाई हैन, यसको यात्रा लामो छ। बजारले कम्तीमा पनि ४ हजार ४१ सयको रेसियोमा पुग्छ भन्ने मेरो दाबी छ।
बजारका लागि आवश्यक पर्ने सम्पूर्ण आधारहरू अहिलेलाई सकारात्मक छ , सबै सूचकहरू आशा लाग्दो र विश्वास बढ्दो अवस्थामा छन्। बजारले यो बिचको समयमा केही समय ब्रेक लिएको थियो। शक्ति सञ्चय गरेको थियो अब यसको यात्रा थप रोचक र तीव्र गतिमा अगाडि बढ्छ भन्नेमा म ढुक्क छु , यसैगरी लगानीकर्तामा समेत विश्वास थपिएको छ बजारप्रतिको त्रसित धारणाबाट मुक्त हुनुहुन्छ भन्ने मलाई लागिरहेको छ ।