काठमाडौँ । वित्तीय प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न सरकारले आज भदौ १९ गते बुधवार विकास ऋणपत्र बोलकबोल मार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । ब्याजदर कम भएको मौका पारेर सरकारले निरन्तर रूपमा आन्तरिक ऋण उठाउँदै आएको छ ।
चालु आर्थिक वर्ष सुरु भए यता अर्थात् साउनदेखि भदौ १८ गतेसम्मको अवधिमा सरकारले ६५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । यस अवधिमा सरकारले ३ पटकमा १५ अर्बको ट्रेजरी बिल्स र ५० अर्बको ५ वटा विकास ऋणपत्रको माध्यमबाट ६५ अर्ब आन्तरिक ऋण उठाएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाउने तालिका सार्वजनिक गरेको छ। कार्यालयको तालिका अनुसार दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड, तेस्रोमा ७३ अर्ब र चौथो त्रैमासमा ७५ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने सरकारको योजना छ । सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ११ वर्षे, ९ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे विकास ऋणपत्र बिक्री गरेर ५० अर्ब आन्तरिक ऋण संकलन गरिसकेको छ । त्यस्तै यस अवधिमा ५ अर्ब रुपैयाँ बराबरको ९१ दिने, १८२ दिने र ३६४ दिने टे«जरी बिल्स बिक्री मार्फत १५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । अब असोज मसान्तसम्म सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र मार्फत थप ५० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौ १७ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ९१ अर्ब ७५ करोड अधिक तरलता रहेको छ । त्यस्तै हालसम्म बैंकहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार थप ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तारको क्षमता छ ।
सार्वजनिक ऋण गत साउन मसान्तसम्म २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ छ ।