काठमाडौँ । दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ ।
एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ ।
दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी (इयूबी) सँगको सहकार्यमा मिरा बायोटेकले अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको छ । नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरू उत्पादन गर्ने कम्पनी हो ।
हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ । यसबाहेक कम्पनीले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको सीइओ सुशिल पौडेलले जानकारी दिए । हाल यस कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ रहेको छ ।
भक्तपुरका चाँगुनारायणमा आफ्नै जग्गा र भवनमा सञ्चालन रहेको मिरा बायोटेकको अत्याधुनिक प्लान्ट औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको कम्पनीले जनाएको छ ।