काठमाडौं । इलेक्ट्रिक कार वुलिङ एयर ईभीको बुकिङ प्रारम्भ भएको छ । विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभीको बुकिङ प्रारम्भ भएको हो ।

नेपालमा सो इलेक्ट्रिक ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुल्ला गरेको हो ।

ईभी नेपाल मोटर्सले पहिले देखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ । ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँ मूल्यमा बुकिङ खुल्ला गरिएको हो ।

यो भन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य हुने बताइएको थियो । तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेरै बुकिङ खुला गरिएको हो ।

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ । यसका साथै ग्राहकले ५० हजार रुपैयाँ सम्मको एसेसरिज समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो इलेक्ट्रिक कार निर्माण भएको हो । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो ।

यसमा अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने कम्पनीले अपेक्षा गरेको छ ।