काठमाडौं । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सबैभन्दा झुटो मेयर भएको आरोप लगाएका छन् । उनिहरुले काठमाडौं महानगरकै इतिहासमा बालेन सबैभन्दा झुटो मेयर भएको आरोप लगाएका हुन् ।

आज (आईतबार) पत्रकार सम्मेलन गर्दै उनीहरुले बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्षमा लागेको बताए ।

स्वरोजगार व्यवसायी संघले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् ।

बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीडा दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघले जनएको छ ।

संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने बताएको छ ।

त्यस्तै असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ÷संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी आन्दोलनका लागि मोर्चा तयार गर्ने जनाएको छ ।