काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षका लागि ल्याएको बजेट भन्दा ९.९९ प्रतिशत अर्थात ५७ करोड ३७ लाख ३४ हजार रुपैयाँले बढी हो ।

चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियोे । अधिकांश महानगरपालिकाहरुको बजेट घट्दै गर्दा भरतपुर महानगरको बजेट झण्डै १० प्रतिशतले बढ्नुले खास अर्थ राखेको छ । अन्य महानगरहरुले स्रोतको अभावमा बजेट घटाएपनि भरतपुर महानगरले भने आन्तरिक स्रोत राम्रो रहेको जनाएको छ । यो वर्ष मात्र महानगरपालिकाले २७.७३ अर्थात् १ अर्ब ७५ करोड रुपैयाँले आय वृद्धि गरेको छ ।

भरतपुर यहीँ महानगरपालिका हो जुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह नगर । प्रचण्ड पुत्री रेणु दाहालले नै अहिले भरतपुर महानगरको नेतृत्व गरिरहेकि छिन् ।उसो त प्रचण्ड पुत्री भएर मात्र नभई पछिल्लो समय मेयर रेणु दाहालले महानगरमा गरेको काम, विकास निर्माण तथा जन सरोकारका मुद्दाहरुले गर्दा उनी निकै लोकप्रिय छिन् ।

भरतपुर महानगरपालिका बजेटको सवालमा ललितपुर महानगरको हाराहारीमा आइपुगेको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।चालु आर्थिक वर्षका लागि ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि जम्मा २.३२ प्रतिशतले मात्र बजेट वृद्धि गरेको हो ।ण