काठमाडौं । काठमाडौंका केही ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । भूमिगत प्रसारण लाइनमा काम गर्नु पर्ने भएकोले केही समय विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा सेवा अवरुद्ध हुनेछ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काट्न लागिएको हो ।
महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६।३० देखि ११ बजेसम्म साढे ४ घण्टा लाइन काटिनेछ ।
यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म पनि बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।