वैदेशिक रोजगारमा भएका नेपाली कसरी सूचीकृत हुने ?
अहिले विदेशमा भएका र श्रम स्वीकृति नवीकरण गर्ने बेला नभएको अवस्थामा भने सामाजिक सुरक्षा कोषको वेबसाइटमा गई फारम भरेर आबद्ध हुन सक्नेछन् ।
यदि विदेशजानुअघि नै श्रम स्वीकृति नम्बर लिने बेलामा फारम भरे सामाजिक सुरक्षा नम्बर पनि पाइनेछ । त्यसरी सूचीकृत हुने बेलामा श्रमिकहरूको इमेलमा सामाजिक सुरक्षा कोषको आइडी कार्ड र पासवर्ड रिसेट गर्नका लागि लिंक पनि उपलब्ध हुन्छ ।
यसको अतिरिक्त विदेशमा भएका तर नवीकरण गर्ने बेला भएको छैन भने त्यस्ता श्रमिकले सामाजिक सुरक्षा कोषको वेबसाइटमा वैदेशिक रोजगार सूचीकरण भन्ने मेनुभित्र नयाँ दर्ता बटममा गएर आवश्यक विवरण भरेपछि त्यहाँबाट पनि सूचीकरण गर्न सकिन्छ ।
कोषका अनुसार विदेश जान नयाँ श्रम स्वीकृति लिनेलाई अनिवार्य र विदेशमा रहेकाले चाहेमा विदेश रहेर पनि फेमिस प्रणालीमा आबद्ध हुन सक्ने व्यवस्था छ । अबदेखि वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने श्रमिकले अनिवार्य रूपमा कोषमा आबद्ध हुनु पर्नेछ ।
जसका लागि श्रम स्वीकृति लिएपछि कोषमा आबद्ध गराएर नम्बर दिएर पठाउने र त्यो नम्बरका आधारमा कोषमा जम्मा गर्ने व्यवस्था छ । गन्तव्य मुलुकले दिने सामाजिक सुरक्षा कार्यक्रममा समावेश भए पनि यो कोषमा आबद्ध हुनुपर्ने छ ।
वैदेशिक रोजगारीमा जाने वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने छन् ।
कस्ता सुविधा छन् त?
कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योगदान दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना जस्ता विभिन्न योजना सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने प्रावधान रहेको छ ।
कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था पनि राखिएको छ ।
श्रम स्वीकृति पत्र पाउन वा नवीकरण गर्न हरेक महिना न्यूनतम २ हजार २ रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकम अग्रिम रूपमा पनि जम्मा गर्न सकिन्छ । यसरी जम्मा गर्दा एकै पटक सात महिना वा सोभन्दा बढीको रकम जम्मा गरे १० प्रतिशतसम्म छुट पाइन्छ ।
योगदानमा आधारित रकम कसरी जम्मा गर्ने ?
योगदानमा आधारित रकम जम्मा गर्न नेपाल भित्र रहँदा वा नेपाल बाहिर रहँदा केही अनलाइन भुक्तानी च्यानलहरू प्रयोगमा ल्याउन सकिन्छ । नेपालमा पनि चल्ने र विदेशमा पनि चल्ने कनेक्ट आईपीएस, खल्ती एप, ई सेवा, फोन पे लगायतको माध्यमबाट रकम जम्मा गर्न सकिन्छ ।
विदेशमा सक्रिय रहेका र नेपालमा पनि शाखा रहेका रेमिट कम्पनीहरूको माध्यमबाट पनि योगदानमा आधारित रकम सिधै कोषको खातामा जम्मा गर्न सकिने व्यवस्था छ । उक्त रकम जम्मा गर्ने बेलामा श्रमिकहरूले हरेक महिना सब्मिसन नम्बर र भौचर नम्बर पाउँछन् ।
त्यो भौचर नम्बर र सामाजिक सुरक्षा नम्बर खल्ती, फोन पे, कनेक्ट आईपीएस लगायतका भुक्तानीका माध्यमहरूमा उल्लेख गरेपछि हरेक महिना श्रमिकले तिनुपर्ने रकम देखाउँछ । त्यसैको आधारमा अनलाइनमार्फत योगदानमा आधारित रकम जम्मा गर्न सकिन्छ ।