काठमाडौँशेयर बजारप्रति सरकार र नियामक निकायहरू प्रतिबद्ध रहँदै गर्दा समेत शेयर बजारमा उतारचढाव आइरहेको छ । बजारमा बिना कारण देखिएको घटबढको कारण लगानीकर्तामा अन्योलको स्थिति सृजना गरेको छ। 

 केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा क्रमशः खुकुलो नीति लिँदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरू परिमार्जन भएका छन् । शेयर बजारका लागि आवश्यक पर्ने सबै आधारहरू राम्रो रहेको जानकारहरूको भनाई छ । र पनि बजार किन लयमा जान सकिरहेको छैन ? 

बजारमा किन घटबढको फराकिलो अन्तर कायम छ ? यी विषयमा आर्थिक भ्वाईसले नेपाल इनभेस्टर फोरमको अध्यक्ष तुलसीराम ढकाललाई सोधेको छ। प्रस्तुत छ यस विषयमा ढकालको धारणा। 

यहाँले भनेझैँ बजार हालको अवस्थामा पर्ख र हेरको अवस्थामा छ । आजको बजारको अवस्थाबारे विश्लेषण गर्दै गर्दा आजकै दिनको मात्रै कारण खोजेर पुग्दैन हामीले यसको पृष्ठभूमिलाई समेत हेर्न आवश्यक छ भन्ने मलाई लाग्दछ ।

यसरी हेर्दा हामी अर्थतन्त्रको निकै निराशाको अवस्था चिरेर अहिलेको अवस्थामा आएका हौँ । हाम्रो पुँजी बजार पटक पटक थला परेको विषयमा हामी सबै जानकार नै छौ। १८ सयको आसपासमा घुमेको बजार ३ हजारको बिन्दु छुन आउनु त्यति बेलाको समयलाई महसुस गरेर हेर्दा सामान्य विषय थिएन ।

संसद्का दुई ठुला भनिएका पार्टी सरकारमा आउने र त्यसमा अर्थ मन्त्रालयको जिम्मेवारी बजारले रुचाएका, लगानीकर्ताको रोजाइका अर्थमन्त्री विष्णु प्रसाद पौडेलको आगमन हुने विषयले हौसिएका लगानीकर्ताको मनोबल उच्च भएसँगै बजारले अपत्यारिलो रूपमा फड्को मारेको स्थिति थियो। बजार निरन्तर बढेर जाँदा यो फेरि उसै गरी घट्ने वाला छ है भन्नेमा आम लगानीकर्ताको ध्यान पुगेको देखिँदैन थियो, सोही कारण बजारमा करेक्सन आउँदै गर्दा लगानीकर्ता भाग्नमा हतार गरे, जसकारण बजारमा दैनिक रूपमा ठुलो अन्तर आउन थाल्यो।

दैनिक रूपमा बढेको बजारमा दैनिक रूपमा नै करेक्सन आउँदैन भन्ने हैन , हामीलाई लाग्छ कि बजार बढोस् निरन्तर उचाइ कायम गरोस् तर त्यो ओरालो नलागोस् भनेर तर त्यस्तो हुन त सम्भव छैन । त्यो त हाम्रो चाहनाको कुरा मात्रै हो बजार बढ्दै जाँदा बिच बिचमा करेक्सन पनि आउँदै गति लिँदै गरेको भए सायद बजार समालिएर जान सक्थ्यो तर त्यसो नभएर बढ्नेक्रमले निरन्तरता पायो तर यहाँ एउटा ओझेलिदै गएको खास विषय के थियो भने उर्लिएको बजारमा ढिलो चाँडो करेक्सन त जरुर आउने नै थियो नै । हो हाल बजारमा निरन्तर देखिएको गिरावट यहीँ हो बजारले करेक्सन एक दिन मात्रै लिने भन्ने कहाँ छ ? यो त हप्तौँ लम्बिन सक्छ जरुरी अहिले लम्बियो ।

यसकारण बजारमा अझैँ निराशाको अवस्थामा वा आजभन्दा ३ वर्षको अगाडीको त्रासपूर्ण अवस्थामा फेरि बजार पुग्छ भन्नेमा कुनै आधार छैन, सम्भावना छैन । त्यस्तो हुन सक्दैन बजारले अहिलेपनी आफ्नो बाटोलाई व्यवस्थापन गर्दै गरेको देखिन्छ यो विश्रामले वा करेक्सनले थप तीव्र गति सहितको सुधारको बाटोमा दोहोर्याउछ भन्नेमा कुनै शंका छैन ।

संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खारेज भएको छ । सरकार बजार सुधारकै पक्षमा लागेको छ यी सबै कारणहरूले केही करेक्सनहरूका बाबजुद पनि बजारले गति लिन्छ भन्ने प्रमाण हुन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले पनि अहम् भूमिका निर्वाह गरेको हुन्छ । हाल बजारमा देखिएका लगानीकर्ता निकै अपरिपक्व देखिएका छन् । बढ्न लाग्यो भने झुम्मी हाल्ने र घट्न थाल्यो भने बजारबाट भागी हाल्ने यस्तो किसिमको गतिविधिले बजारलाई झनै अस्थिर बनाउन उतारचढाव आइरहन्छ त्यसकारण लगानीकर्ताले उच्च मनोबलका साथ बजारलाई स्थायीत्वो दिनेगरी होमिन आवश्यक छ भन्ने मलाई लागिरहेको छ ।

अर्कोतिर बजार बढ्छ भन्ने धेरैलाई विश्वास लाग्यो भने नेप्सेले पनि सोही अनुसार प्रतिक्रिया दिन्छ । तर आम लगानीकर्ताको मनोबल कमजोर भयो भने बजारले पनि अपेक्षित गति लिन सक्दैन । यसर्थ, सबैभन्दा पहिला लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । समग्रमा, बजारमा घटबढ भइरहन्छ । बढेको बजार घट्छ, घट्नेक्रम सकिएपछि पुनः बढ्छ ।

यो बजारको सामान्य नियम हो । यसर्थ, आम लगानीकर्ताले जहिले पनि आफ्नो रणनीति बनाउनुपर्ने हुन्छ । कहिले किन्ने, कुन बेला बेच्ने भनेर । यसरी स्पष्ट रणनीति तय गर्दा पटक पटक बजारमा आइरहने उतारचढावबाट खासै प्रताडित हुनु पर्दैन। बैंकहरुमा बढ्दो तरलता, घट्दोक्रममा रहेको ब्याजदर लगायतका कारण बजारले अन्ततः बजार बढ्ने नै हो भन्नेमा प्रस्ट देखिन्छ ।