काठमाडौँ । बागलुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित स्वामीचोकको घर निर्माण गर्नेक्रममा एक जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो करिब १ः ३० बजेको समयमा बेगम बहादुर विकको जीर्ण अवस्थामा रहेको घर भत्काएर पुनः निर्माण गर्नेक्रममा घरको गारो एकै पटक पहिरोको रूपमा भत्किदा घरधनी ५५ वर्षीय बेगम बहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिएका छन् ।
घर भत्किएर ढुङ्गा माटोमा च्यापिएका विकको सोही स्थानमा रहेको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । उक्त घटनामा ११ जना मजदुर घाइते भएको र उनीहरूको सोही अस्पतालमा उपचारमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरूमा रुपन्देही जिल्ला बुटवल उ.म.न.पा- ९ बस्ने २६वर्षका शंकर पन्थी, काठमाडौँ जिल्ला का.म.न.पा-१० बस्ने २४ वर्षका सुगान्त पौडेल, बागलुङ ढोरपाटन न.पा.४ का ३४ बस्ने वर्षका खडक प्रसाद बि.क, सोही स्थानका वर्ष २० का इन्द्र रसाइली, वर्ष ४० की कोपिला छन्त्याल, वर्ष ५० को सुभ बुढामगर, वर्ष ४० की देबिसरा बि.क.वर्ष ३० की थम कुमारी बि.क.तमानखोला गा.पा.१ बस्ने वर्ष ३८ की खममाया घर्ती, वर्ष ३५ का टेक बहादुर बि.क. र वर्ष ५१ की टेकमाया रसाइली रहेका छन् ।
घाइते मध्य तीज जनाको अवस्था मध्यम रहेको छ भने बाकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । धेरैजसोको टाउको, ढाड र हात खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।