काठमाडौँ । नेपाली बजारका साताको पहिलो कारोबारका दिन सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । गत शुक्रवार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला थप ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । डलरको मूल्यमा गिरावट आएको कारण सुनमा लगानी गर्नेहरू बढेको कारण सुनको मूल्य बढेको जानकारहरूको भनाई छ ।

त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ। सुनको मूल्य ०.७८ प्रतिशत अर्थात् २०.०२ डलरले बढेको छ । यससँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५७८.२४ डलर कायम भएको छ ।