काठमाडौँ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २ गते बुधवारका दिन अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक बिदा परेका कारण कम्पनीको बुकक्लोज अघिको कारोबार आज अन्तिम हो। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।